images
images

बालेन साहलाई महोत्तरी–३ बाट चुनाव लड्न आफन्त र रास्वपा नेताको आग्रह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्न उनका आफन्त तथा शुभेच्छुकहरूले आग्रह गरेका छन्।

मंगलबार ललितपुरको ज्वागलमा भएको भेटघाटका क्रममा महोत्तरीबाट आएका आफन्त र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले बालेनलाई अन्य क्षेत्र नखोजी महोत्तरी–३ बाटै उम्मेदवार बन्न सुझाव दिएका हुन्।

बालेन साहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिकामा रहेको छ। परिवारका सबै सदस्य काठमाडौँमा बस्दै आए पनि महोत्तरीमा उनको घर अझै रहेको बताइएको छ।

बालेन यही माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्ने तयारीमा छन्। त्यसपछि प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारीमा रहेका बालेनले झापा–५ बाट चुनाव लड्न सक्ने चर्चा चलेका बेला महोत्तरीबाट पनि दबाब बढेको हो।

बालेनका सचिवालय स्रोतका अनुसार, महोत्तरीबाट आएका आफन्तहरूले जिल्लाको राजनीतिक अवस्था र जनचासोबारे जानकारी गराउँदै महोत्तरी–३ बाट चुनाव लड्न आग्रह गरेका छन्।

रास्वपाका वरिष्ठ नेता भए पनि बालेन हालसम्म पार्टी कार्यालय गएका छैनन्। उनी हाल ज्वागलमै बसेर भेटघाट, छलफल र परामर्शमा व्यस्त छन्।

यसैबीच, बालेन यही माघ ५ गते जनकपुर जाने कार्यक्रम रहेको छ। जनकपुरमा हुने पार्टी कार्यक्रममा उनी पहिलोपटक रास्वपाको ब्यानरमा सहभागी हुनेछन्। सोही कार्यक्रमबाट उनी चुनावी गतिविधिमा सक्रिय हुने तयारीमा रहेको रास्वपाले जनाएको छ।