images
images

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता

काठमाडौं – ग्लोबल आइएमई बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंक पुस १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कोशी प्रदेशको तीनपैनी शाखा, मधेसको बर्दिवास शाखा, बागमतीको कान्तिपथ र नारायणगढ शाखा, गण्डकीको पोखरा न्युरोड शाखा, लुम्बिनीको चौराहा बुटवल शाखा र नेपालगन्ज शाखा, कर्णालीको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रममा ५५८ रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमबाट संकलित रगत गरिब, विपन्न र न्यून आय भएका व्यक्तिलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसप्रकारका विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।