images
images

कांग्रेस विशेष महाधिवेशन: संशोधित कार्यतालिकाअनुसार बेलुका ८ देखि ११ सम्म मतदान

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा जारी महाधिवेशनमा सहमति र वार्ताका प्रयासहरू भइरहँदा निर्वाचन समितिले प्रक्रियालाई तीव्रता दिँदै नयाँ समयतालिका सार्वजनिक गरेको हो।

वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीद्वारा हस्ताक्षरित सूचना अनुसार, संशोधित तालिकामा उम्मेदवारी दर्तादेखि मतदान र परिणाम घोषणासम्मको समय तय गरिएको छ।

उम्मेदवारहरूको पहिलो नामावली (नेपाली वर्णानुक्रम अनुसार) आज दिउँसो ३ बजे सार्वजनिक गरिनेछ।

उम्मेदवारीमाथि दाबी विरोधका लागि दिउँसो ४ देखि ४:३० सम्मको समय तोकिएको छ।

उम्मेदवारको मनोनयन दर्ता फिर्ता लिन चाहनेका लागि साँझ ५:०५  ५:३५ सम्मको समय छुट्याइएको छ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजे हुने र मतदान प्रक्रिया बेलुकी ८ बजेदेखि ११ बजेसम्म हुने उल्लेख छ।

निर्वाचन समितिका अनुसार हाल महाधिवेशनमा कुल ४ हजार ६ सय ३८ महाधिवेशन प्रतिनिधिहरू मतदाताका रूपमा रहेका छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

संयोजक केसीका अनुसार १३ पदाधिकारीसहित कुल १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि यो निर्वाचन प्रक्रिया अघि बढाइएको हो। पार्टीभित्रको आन्तरिक विवाद र संस्थापन पक्षसँगको वार्ताका बीच यो संशोधित कार्यतालिकाले नयाँ नेतृत्व चयनको बाटो स्पष्ट पारेको छ।