images
images

“नेतृत्व सूचीमा फेरबदल? गगन, विश्वप्रकाश र मन्सुरको नाम हट्यो कांग्रेस वेबसाइटबाट”

काठमाडौँ- नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापासहित तीन नेताको नाम र तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।

बिहीबार बिहान कांग्रेसको वेबसाइटबाट १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर हटाइएको हो।

थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम र तस्बिर पनि वेबसाइटबाट हटाइएको छ।

भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए।

यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।