images
images

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

काठमाडौँ, माघ १ — जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपछि गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु भएको छ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको सहभागिता रहेको छ।

बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, आन्तरिक समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ।

विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखेर छलफल सुरु गरिएको जनाइएको छ। निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन तथा व्यवस्थापन र सम्भावित गठबन्धनसम्बन्धी विषयमा विस्तृत विचार–विमर्श भइरहेको छ।

बैठकमा एजेन्डाअनुसार नेताहरूले आ–आफ्ना सुझाव र धारणा राख्ने क्रम जारी रहेको बताइएको छ।