काठमाडौं -अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएपछि फ्रान्स र नेटोका युरोपियन देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यासका लागि सेना पठाउने भएका छन् ।
डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग आफूहरूको व्यापक मतभेद रहेको बताएको एक दिनपछि यो घटनाक्रम सार्वजनिक भएको हो । अमेरिकाले डेनमार्कको उक्त स्वायत्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ग्रिनल्यान्डमा जारी युरोपेली सैन्य अभ्यासका लागि आफ्नो देशले थप स्थल, जल र वायु सेनाका टोलीहरू पठाउने घोषणा गरेका छन् ।
म्याक्रोनले जहाँ युरोपेली हित र क्षेत्रीय सार्वभौमसत्तामा खतरा पैदा हुन्छ, त्यहाँ फ्रान्सको उपस्थिति अनिवार्य हुने स्पष्ट पारेका छन् ।
म्याक्रोनले विश्वमा रूस र इरानजस्ता अस्थिरता फैलाउने शक्तिहरूको प्रभाव बढिरहेको भन्दै त्यसको जवाफमा युरोपले आफ्नो रक्षा क्षमता सुदृढ गर्नुपर्ने बताए ।
म्याक्रोनले आफ्नो स्वतन्त्रता कायम राख्न शक्तिशाली हुनु र द्रुत गतिमा कारबाही गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् ।
आफ्नो सैन्य शक्तिलाई थप सशक्त बनाउन फ्रान्सले रक्षा बजेटमा ठूलो वृद्धिको घोषणा गरेको छ । सन् २०३० सम्ममा हालको रक्षा खर्चमा ३६ अर्ब युरो थप गरिने बताएको छ । यो रकम पहिले नै तय गरिएको ४१३ अर्ब युरोको बजेट भन्दा अतिरिक्त हुने बताइएको छ ।
यो लगानीको मुख्य उद्देश्य फ्रान्सलाई प्राविधिक र रणनीतिक रूपमा यति सक्षम बनाउनु हो । उसले कुनै पनि बाह्य खतराको डटेर सामना गर्न सकोस् भन्ने रक्षा बजेट बढाउनुको कारण हो ।
पोल्यान्डले ग्रिनल्यान्डमा सेना नपठाउने
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार, १५ जनवरीमा आफ्नो देशले ग्रिनल्यान्डमा सैनिक नपठाउने जानकारी दिए । उनले नेटोभित्र बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै एक नेटो सदस्यले अर्को सदस्यको क्षेत्र कब्जा गर्ने प्रयास गर्नु सम्पूर्ण विश्वका लागि विनाशकारी साबित हुने चेतावनी दिए ।
टस्कले पत्रकार सम्मेलनका क्रममा ग्रिनल्यान्डको मुद्दामा एक नेटो देशले अर्कोमाथि आक्रमण गर्नु भनेको संसारको अन्त्य हुनु सरह भएको बताए ।
उनको यो धारणा डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी सुरक्षाका लागि आफ्नो कब्जामा लिनु महत्वपूर्ण रहेको बताएछि आएको हो ।
रूस वा चीनको कब्जा रोक्न अमेरिकाले ग्रिनल्यान्डमा आफ्नो नियन्त्रण कायम गर्नुपर्ने ट्रम्पले बताउँदै आएका छन् । यसका लागि उनले सबै विकल्पहरू खुला राख्ने घोषणा गरिसकेका छन् ।
ग्रिनल्यान्ड डेनमार्कको एक स्वायत्त हिस्सा हो । डेनमार्क पनि नेटोको सदस्य हो । ट्रम्पलाई सुरक्षाको विश्वास दिलाउन डेनमार्क र उसका सहयोगीहरूले त्यहाँ सैन्य अभ्यासको तयारी गरेका छन्, जसमा सहभागी हुन फ्रान्स र जर्मनीका सैनिकहरू बिहीबार प्रस्थान गरिसकेका छन् । एबीसीन्युजबाट ।








