images
images

भेनेजुएलाकी विपक्षी नेतृ माचादोले ट्रम्पलाई दिइन् आफूले पाएको नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले पाएको नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेको बताएकी छिन्। बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटका क्रममा उक्त पदक ट्रम्पलाई दिएको उनले जानकारी दिएकी हुन्।

ट्रम्पसँग प्रत्यक्ष भेटपछि माचादोले भनिन्, ‘आज भेनेजुएलालीहरूका लागि ऐतिहासिक दिन हो।’ माचादो र ट्रम्पबीच यो पहिलो भेट थियो। यसअघि नै माचादोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गर्ने इच्छा व्यक्त गरेकी थिइन् भने ट्रम्पले त्यसलाई स्वीकार गर्ने बताएका थिए।

यो भेट केही साताअघि अमेरिकी सेनाले भेनेजुएलाको राजधानी कराकासबाट राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएर लागूऔषध तस्करीसम्बन्धी मुद्दा दायर गरेपछि भएको हो। भेटपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आभार व्यक्त गर्दै उक्त पदक प्राप्त हुनु ‘आपसी सम्मानको अद्भुत संकेत’ भएको बताएका छन्।

भेनेजुएलामा सन् २०२४ मा सम्पन्न विवादास्पद निर्वाचनमा आफ्नो आन्दोलनले जित हासिल गरेको दाबी गरेकी माचादोलाई ट्रम्पले औपचारिक रूपमा देशको नयाँ नेतृका रूपमा मान्यता भने दिएका छैनन्। बरु ट्रम्प प्रशासनले मदुरो सरकारकी पूर्व उपराष्ट्रपति तथा हाल कार्यवाहक राष्ट्रप्रमुख डेल्सी रोड्रिगेजसँग संवाद गरिरहेको बताइएको छ।

यद्यपि ट्रम्पले माचादोसँगको भेटलाई ‘ठूलो सम्मान’ भन्दै उनलाई ‘अत्यन्तै कठिनाइ भोगेकी अद्भुत महिला’ का रूपमा प्रशंसा गरेका छन्।

ह्वाइट हाउसबाट बाहिरिएपछि माचादोले बाहिर भेला भएका समर्थकहरूलाई स्पेनी भाषामा सम्बोधन गर्दै ‘हामी राष्ट्रपति ट्रम्पमा भरोसा गर्न सक्छौँ’ भनिन्। पछि पत्रकारहरूसँग अंग्रेजीमा कुरा गर्दै उनले भनिन्, ‘मैले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेँ। यसले भेनेजुएलाको स्वतन्त्रताप्रतिको उहाँको विशेष प्रतिबद्धताको कदर भएको महसुस भएको छ।’

नोबेल शान्ति पुरस्कार पाउने चाहना सार्वजनिक रूपमा व्यक्त गर्दै आएका ट्रम्पले गत वर्ष उक्त पुरस्कार माचादोलाई प्रदान गर्दा असन्तुष्टि जनाएका थिए। तर माचादोले त्यो सम्मान स्वीकारेकी थिइन्। उनले हालै उक्त पदक ट्रम्पसँग बाँड्ने इच्छा व्यक्त गरेकी थिइन्। यस विषयमा नोबेल समितिले भने पुरस्कार हस्तान्तरणयोग्य नहुने स्पष्ट पारेको छ।

नोबेल समितिको वक्तव्यमा भनिएको छ, ‘एक पटक नोबेल पुरस्कार घोषणा भएपछि त्यसलाई फिर्ता लिन, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन। निर्णय अन्तिम हुन्छ र सधैँका लागि कायम रहन्छ।’

ह्वाइट हाउस भेटअघि नोबेल शान्ति केन्द्रले सामाजिक सञ्जालमार्फत पदकको स्वामित्व परिवर्तन हुन सक्ने भए पनि नोबेल शान्ति पुरस्कार विजेताको उपाधि परिवर्तन नहुने स्पष्ट पारेको थियो।

वासिङ्टन भ्रमणका क्रममा माचादोले अमेरिकी सिनेटरहरूसँग भेट गर्न कंग्रेस पनि गएकी थिइन्। त्यहाँ समर्थकहरूले ‘मारिया राष्ट्रपति’ भन्दै नारा लगाउँदा उनी भावुक बनेकी थिइन्।