images
images

बालेनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय’

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसर पारेर आफ्नो इन्जिनियरिङ अनुभव र देश निर्माणको भावी मार्गचित्रबारे धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा एक सिभिल इन्जिनियरको रूपमा काम गर्दाका अनुभवहरू स्मरण गर्दै अबको आवश्यकता ‘इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण’ भएको बताएका छन्।

प्रमुख शाहले भूकम्पपछि काभ्रेमा करिब २५ सय घर निर्माण गरेको र गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा पुगेर काम गर्दा नेपालको भौगोलिक र सामाजिक अवस्थालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरेका छन्।

उनले नेपालजस्तो भूकम्पीय जोखिम भएको देश प्राविधिक कोणबाट मात्र नभई भौगोलिक बनोट र समाजको विविधतालाई समेत आत्मसाथ गरेर मात्र बनाउन सकिने निष्कर्ष निकालेका छन्।

सोही बुझाइका साथ आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र विदेशमा काम गर्ने अवसर त्यागेर देश फर्किएको उनले बताएका छन्।

महानगर प्रमुखको जिम्मेवारी सम्हालेपछि आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको उल्लेख गरेका छन्।

महानगरमा सुरु भएका पारदर्शी प्रणाली र संरचनागत सुधारका अभ्यासहरूलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।

शाहले विकासको परिभाषालाई फराकिलो बनाउनुपर्नेमा जोड दिँदै सडक र भवन मात्र विकास नभई सुरक्षित संरचना र जनतामा आशा जगाउने वातावरण निर्माण गर्नु नै वास्तविक विकास भएको तर्क गरेका छन्। उनले भनेका छन्, “देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।”

आफू राजनीतिमा आउनुको मुख्य उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको स्पष्ट पार्दै उनले भविष्यका पुस्तालाई सुरक्षित देश हस्तान्तरण गर्ने नीति आवश्यक रहेको बताएका छन्।

संकट आउनुअघि नै तयारी गर्ने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन व्यवस्था नै आफ्नो अभियानको मूल लक्ष्य रहेको उनले उल्लेख गरेका छन्।

यो अभियान कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको भन्दै उनले राष्ट्र निर्माणको यात्रामा सहभागी हुन सबैमा आह्वान गरेका छन्।