काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी विधानअनुसार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको दाबी गरेका हुन्।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भए पनि ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उल्लेख गरे।
उनले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले काम नसकेकै कारण हुन नसकेको जिकिर गरे।
उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भए पनि तत्कालीन महामन्त्रीद्वयले त्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए।
उनले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी वैशाखमा गर्ने निर्णय गरिएको बताए। उनले गत पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिरसमेत गरे।








