images
images

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणपछि संयुक्त रूपमा चुनावी गतिविधि अघि बढाइने

काठमाडौं-जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच एकीकरण सम्पन्न भएसँगै दुबै पार्टीले संयुक्त रूपमा आगामी निर्वाचन केन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेका छन्।

जसपा नेपालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार २०८१ पौष १३ गते जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण भएको हो। उक्त एकीकरणसम्बन्धी सहमति पत्रमा दुबै दलका अध्यक्षहरूले २०८१ पौष २७ गते हस्ताक्षर गरी सार्वजनिक गरेका थिए।

एकीकरण सम्झौताको बुँदा नम्बर ८ अनुसार दुबै पार्टीका केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय पदाधिकारी समिति, केन्द्रीय समिति, मातहतका संगठन, विभाग तथा पार्टीअन्तर्गत आबद्ध संगठनहरूलाई समायोजन नहुँदासम्म आपसी समन्वयका साथ काम गर्न निर्देशन दिइएको छ।
आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै आ–आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिमा सक्रिय सहभागिता जनाउन तथा प्रभावकारी ढंगले पार्टी संगठन निर्माण, चुनावी प्रचार–प्रसार र संगठन सञ्चालन गर्न समेत आग्रह गरिएको छ।

साथै, दुबै पार्टीका सबै तहका संगठनहरूसँग समन्वय गरी आम मतदातालाई पार्टीको पक्षमा मतदान गर्न अभिप्रेरित गर्न अनुरोध गरिएको छ।
जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारहरूको विजयको कामनासहित यो परिपत्र जारी गरिएको पार्टीले जनाएको छ।

उक्त परिपत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र महासचिव महिन्द्र ठाकुरको हस्ताक्षर रहेको छ।