images
images

एमाले सचिवालय बैठकमा योगेशले भने– उम्मेदवार छनोटमा मेरो नोट अफ डिसेन्ट छ

नेकपा एमाले सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट (असहमति) राखेका छन्। उम्मेदवार छनोटमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै उनले लिखित असहमति राख्ने बताएका हुन्।

‘उहाँले बैठकको अन्तिममा मेरो नोट अफ डिसेन्ट छ भन्नुभएको छ, उम्मेदवार छनोटमा एकलौटी भयो। महाधिवेशनमा आफूहरूसँग प्रतिस्पर्धा गरेको नजरबाट हेरियो र काखापाखा गरियो,’ एक सदस्यले भने।

सचिवालय बैठकले ताप्लेजुङमा उम्मेदवार खाली राखेको छ। टुंयाउने अधिकार अध्यक्ष ओलीले आफै लिएका छन्। बैठकमा अध्यक्ष ओलीले ताप्लेजुङमा योगेश भट्टराई उठाए चुनाव नजित्ने विश्लेषण सुनाएका थिए।

‘विवाद देखिएको छ। तलबाट साथीहरूले योगेशजीले नजित्ने विश्लेषण सुनाइरहनुभएको छ। उहाँलाई उम्मेदवार बनाउनु अहिलेको सन्दर्भमा उपयुक्त काम होइन,’ अध्यक्ष ओलीको आशय थियो।

त्यसपछि उपाध्यक्ष गोकर्ण विष्टलगायतले प्रतिवाद गरेका थिए।

‘उहाँले दुईपटक त्यहाँबाट जितिसक्नुभएको छ। पार्टीको उपमहासचिव पनि हो। उहाँको हकमा अन्यथा कुरा किन गर्ने?,’ उनले भनेका थिए।

तर पनि अध्यक्ष ओलीले मानेनन्। ठाउँ खाली राख्न महासचिव शंकर पोखरेललाई निर्देशन दिए।