गोरखा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका ठूला राजनीतिक दलहरूले दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएका छन्।
नेपाली कांग्रेसले गोरखा–१ मा प्रेम खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट गोरखा–१ मा हरिराज अधिकारी र गोरखा–२ मा लेखनाथ न्यौपाने चुनावी मैदानमा उत्रने भएका छन्।
नेकपा एमालेले गोरखा–१ मा आरसी लामिछाने र गोरखा–२ मा मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवार बनाएको छ। गुरुङलाई अपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिसँग जोडेर हेरिने गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)बाट गोरखा–२ मा डा. बाबुराम भट्टराई उम्मेदवार बन्ने भएका छन् भने गोरखा–१ को उम्मेदवारबारे निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ।
यसैबीच, आज हुने मनोनयन दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयले दलअनुसार फरक–फरक समय तोकेको छ। कार्यालयका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने भए पनि कार्यक्रम नजुधोस् भन्ने उद्देश्यले समय विभाजन गरिएको हो।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार नेपाली कांग्रेसका लागि दिउँसो २ः३० बजे, नेकपाका लागि २ बजे, एमालेका लागि १ बजे र रास्वपाका लागि ३ बजे समय तोकिएको छ। प्रलोपका लागि सवा २ बजे समय निर्धारण गरिएको छ।
त्यस्तै, नेपाल परिवार दलका लागि बिहान १० बजे, मंगोलियन नेशनल अर्गनाइजेसनका लागि १०ः३० बजे र नेशनल रिपब्लिक नेपालका लागि १२ बजे समय तोकिएको छ। स्वतन्त्र उम्मेदवार तथा अन्य दललाई भने बिहान १० देखि साँझ ५ बजेसम्म समय मिलाएर मनोनयन दर्ता गर्न आग्रह गरिएको निर्वाचन कार्यालयले जनाएको छ।








