अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा आफ्नो नियन्त्रण अनिवार्य रहेको बताएका छन्। उनले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा आउने कुराको विरोध गर्ने युरोपेली देशहरूमाथि घोषणा गरिएको भन्सार शुल्क (ट्यारिफ) शतप्रतिशत कार्यन्वयन गर्ने बताए।
युरोपेली सहयोगी राष्ट्रहरूले ग्रीनल्याण्डको सार्वभौमिकताको समर्थन गर्दै एकजुट भएसँगै ट्रम्प थप आक्रोशित बनेका छन्। अर्को तर्फ डेनमार्कका विदेशमन्त्रीले अमेरिकी राष्ट्रपतिले धम्कीको भरमा डेनमार्कको अर्ध-स्वायत्त भूभाग ग्रीनल्याण्डको स्वामित्व लिन नसक्ने बताए।
त्यस्तै बेलायतकी विदेश सचिव याभेट कूपरले पनि ग्रीनल्याण्डको भविष्यबारे निर्णय गर्ने अधिकार ग्रीनल्याण्डवासी र डेनमार्ककै हुने बेलायतको धारणा स्पष्ट रहेको बताएका छन्। सोमबार राति ट्रम्पले बल प्रयोगको सम्भावना रहेको स्विकार्दै बेलायत र अन्य सात सहयोगी नाटो सदस्य देशहरुबाट अमेरिकामा आउने सामानमा भन्सार शुल्क लगाउने योजना कार्यन्वयन गर्ने स्पष्ट पारे।
अमेरिकी राष्ट्रपतिले फेब्रुअरी १ देखि बेलायतबाट अमेरिकामा पठाइने सबै प्रकारका सामानमा १० प्रतिशत भन्सार शुल्क लगाइने र जुन १ देखि त्यो २५ प्रतिशत पुर्याइने बताएका छन्। डेनमार्कबाट ग्रीनल्याण्ड खरिद गर्ने सम्झौता नभएसम्म यो व्यवस्था लागू रहने उनको भनाइ छ।
ट्रम्पले यही नीति डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स र फिनल्यान्डमा पनि लागू हुने बताए। यी सबै सन् १९४९ मा स्थापना भएको रक्षा गठबन्धन नाटोका सदस्य देश हुन्। भन्सार शुल्कको धम्की होकी कार्यान्वयन गर्नुहुन्छ कि भन्ने प्रश्नमा ट्रम्पले एनबीसी न्युजलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताए।
उनले थपे, ‘युरोपले ग्रीनल्याण्ड होइन, रूस-युक्रेन युद्धमा ध्यान दिनुपर्छ। किनभने त्यहाँ के भइरहेको छ, सबैले देखिरहेका छन्। युरोपले ध्यान दिनुपर्ने विषय त्यही हो।’ डेनमार्कले ग्रीनल्याण्डमा अमेरिकी सैनिक कारबाही भए नाटोको अन्त्य हुने चेतावनी दिएको छ। पछिल्ला दिनहरूमा नाटोका केही युरोपेली सदस्य राष्ट्रहरूले ग्रीनल्याण्डलाई समर्थन जनाउँदै प्रतीकात्मक रूपमा केही सैनिकहरु ग्रिनल्यान्ड पठाएका छन्।
तर त्यस सैन्य उपस्थितिपछि नै ट्रम्पले ती आठ नाटो सहयोगी देशमाथि भन्सार शुल्क लगाउने घोषणा गरे। डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रास्मुसनले युरोपले राष्ट्रपति ट्रम्पलाई भन्सार शुल्कको धम्कीले समाधान ननिकालने कुराको स्पष्ट जवाफ दिनु पर्ने बताए।
नाटोका महासचिव मार्क रुट्टेले आर्कटिक क्षेत्रको सुरक्षाबारे डेनमार्क र ग्रीनल्याण्डसँग मिलेर काम जारी रहने बताए। युरोपेली संघले बिहीबार ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गर्दै ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको पछिल्लो धम्कीको जवाफबारे छलफल गर्ने जनाएको छ।








