काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा जित्ने कुनै आधार नरहेको दाबी गरेका छन्।
जेन–जी आन्दोलनको क्रममा सिंहदरबार जलाउने एउटा स्टेकहोल्डरको रुपमा रहेकाले पनि रास्वपाको कुनै भविष्यसमेत नरहेको उनको भनाइ थियो।
मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको रास्वपाले स्थापित राजनीतिक दलहरुको विरोध गरेर केही दिनका लागि चर्चाको आएको मात्रै बताए।
उनले केही दिनका लागि जनतालाई वैकल्पिक शक्ति भनेर सो पार्टीले भ्रम दिए पनि अब नटिक्ने बताए।
उनले भने, ‘रास्वपा भनेको एउटा अस्थिर राजनीतिक दल हो। यो स्थापित सबै राजनीतिक दलहरुको विरोध गरेर जन्मिएको हो। त्यसकारण उनीहरुको कुनै भविष्य छैन। रास्वपाको न कुनै वैचारिक स्पष्टता छ न त नीतिगत स्पष्टता छ। यसको केही पनि स्पष्टता छैन। त्यसकारण जित्नका लागि उनीहरुसँग कुनै वैचारिक, राजनीतिक आधार छैन। त्यसकारणले उनीहरुले जित्दैनन्। उनीहरु अहिले केही भ्रम दिन सफल भएका छन्। तर, त्यो भ्रम अब धेरै दिन कायम रहँदैन। किनभने भ्रम दिएर नाजीहरु सफल भएका थिए। तर उनीहरु टिकेनन्। रास्वपा सिंहदरबार जलाउनेहरुको एउटा स्टेकहोल्डर हो।’









