ललितपुर— नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ र देशको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच ट्राभल बुकिङलाई अझ सहज र सुविधाजनक बनाउन साझेदारी भएको छ। यस सम्झौताअनुसार अब नबिल बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘nBank’ मार्फत सिधै ट्राभल सेवाहरू बुकिङ गर्न सक्नेछन्।
यससम्बन्धी सम्झौतामा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ एण्ड मार्केटिङ लिड विमलराज पौडेलले हस्ताक्षर गर्नुभएको छ।
यो सहकार्यसँगै nBank प्रयोगकर्ताहरूले बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट र ट्रिप टर्बोले उपलब्ध गराउने विभिन्न पर्यटकीय गतिविधिहरू एपबाटै बुकिङ गर्न पाउनेछन् । प्रयोगकर्ताहरूले nBank एपको ‘मार्केटप्लेस’ सेक्सन (Home > More) मा गएर ट्रिप टर्बो छनोट गरी आफ्नो यात्रा तय गर्न र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
साझेदारीका बारेमा बोल्दै ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले प्रविधिको माध्यमबाट यात्रालाई सरल बनाउने लक्ष्यअनुसार नबिल बैंकसँग सहकार्य गरिएको र यसले ग्राहकलाई थप सुरक्षा र सुविधा दिने बताए। त्यस्तै, नबिल बैंकका DCEO आदर्श बजगाईंले nBank लाई ग्राहकका दैनिक आवश्यकताहरू पूरा गर्ने एउटै प्लेटफर्मको रूपमा विकास गर्ने बैंकको रणनीतिअनुसार यो सेवा थपिएको जानकारी दिए।
सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सन् २०२४ सेप्टेम्बरदेखि आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको हो। हालसम्म यस एपका एन्ड्रोइड र आईओएस गरी कुल ३ लाख ७० हजारभन्दा बढी डाउनलोड भइसकेका छन्।
नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएम नेटवर्कमार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यो नयाँ सेवा अहिले सबै nBank प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ।








