images
images

गोरखामा उम्मेदवारीको बाढी: प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका उम्मेदवार मैदानमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासँगै राजनीतिक सरगर्मी तीव्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा तथा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीसहित विभिन्न दलका उम्मेदवारहरूले मंगलबार औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्।

गोरखा–१ मा कस–कसले दिए उम्मेदवारी?

गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ। मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो।

यस्तै, नेपाली कांग्रेसका प्रेम खत्रीले पनि गोरखा–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। नेकपा एमालेका तर्फबाट आरसी लामिछाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले समेत यही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

गोरखा–२ मा प्रतिस्पर्धा झनै रोचक

गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा पनि विभिन्न दलका प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ।

प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)का तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। चुनाव नलड्ने अभिव्यक्ति दिएका भट्टराईले अन्तिम समयमा उम्मेदवारी दर्ता गरेपछि राजनीतिक वृत्तमा चासो बढेको छ।

यसैगरी नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन), नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का लेखनाथ न्यौपाने तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कविन्द्र बुर्लाकोटीले पनि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन्।

चुनावी माहोल तातिँदै

एकै दिन विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएपछि गोरखाको प्रतिनिधिसभा निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। उम्मेदवारी दर्तापछि दलहरू प्रचार–प्रसार र जनसम्पर्क अभियानमा सक्रिय बन्दै गएका छन्।

स्थानीय मतदाताको ध्यान तान्न उम्मेदवारहरू विकास, सुशासन, रोजगारी र राजनीतिक स्थायित्वलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्ने तयारीमा जुटेका छन्।