images
images

निर्वाचन महाकुम्भमा देश प्रवेश गर्‍यो: प्रधानमन्त्री कार्कीले दल र उम्मेदवारलाई दिइन् धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयसीमाभित्र उत्साहपूर्वक मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्नुभएको छ। मंगलबार एक सन्देश जारी गर्दै उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी प्रक्रियामा आजको दिनलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।

प्रधानमन्त्री कार्कीका अनुसार, मनोनयन दर्ता प्रक्रियाको सफलतापूर्वक सम्पन्न हुनु निर्वाचनको अर्को महत्वपूर्ण कोशेढुङ्गा हो। उहाँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो।

‘सुरक्षा व्यवस्थामा कुनै पनि प्रकारको सम्झौता गरिने छैन,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘सबै सुरक्षा निकायहरू उच्च सतर्कता, व्यावसायिक क्षमता र मनोबलका साथ परिचालित छन्।’

प्रतिनिधिसभाका १६५ सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराउनु लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासको संकेत भएको उहाँको भनाइ छ। यसले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने कुरा पुनः प्रमाणित गरेको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयो।

निर्वाचन प्रक्रियामा देखिएको व्यापक उत्साहले राजनीतिक क्षेत्रमा मात्र होइन, निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाइ छ। अब मुलुकमा अन्योल र अनिश्चितताको अवस्था समाप्त हुँदै राष्ट्र निर्वाचनको महापर्वतर्फ अघि बढेको उहाँले बताउनुभयो।

निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेकोमा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्नुभयो।

अन्त्यमा प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली नागरिकलाई संयमित, सक्रिय र जिम्मेवार ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुन हार्दिक अपिल गर्नुभएको छ।