काठमाडौँ – निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग गरेको छ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को पालनासम्बन्धी विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।
आयोगले मनोनयन दर्ताका क्रममा दलको झण्डाको प्रयोग गरिएको तथा आचारसंहिताले तोकेको सीमा विपरीत २५ जनाभन्दा बढी व्यक्तिको सहभागितामा जुलुससहित उम्मेदवारी दर्ता गरिएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण माग गरेको छ। भिडियो सामाग्रीसहित उजुरी प्राप्त भएको भन्दै आयोगले पत्र लेखेको बताएको छ ।
पत्रमा उल्लिखित विषय पुष्टि भएमा किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानूनबमोजिम कारबाही अघि नबढाइने भन्ने प्रश्नसमेत उठाइएको छ।
आयोगले उम्मेदवारलाई तोकिएको समय सीमाभित्र स्वयं उपस्थित भई वा प्रतिनिधिमार्फत आयोगमा लिखित जवाफ बुझाउन सकिने व्यवस्था गरेको छ।








