काठमाडौँ – कांग्रेसले आउँदो चुनावपछि सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार विशेष महाविधेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारीहरुले पदभार ग्रहण गरेपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री अघि सार्ने निर्णय गरेको हो।
फागुन २१ पछि गठन हुने संसदबाट सभापति थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा राखेका थिए। शर्माको प्रस्तावलाई अर्का उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि सर्वसहमतिले निर्णय भएको थियो।
कांग्रेसले चुनाव अघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको यो तेस्रोपटक हो। २०१५ सालमा विपी कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो भने २०५६ मा कृष्णप्रसाद भट्टराईलाई कांग्रेस उम्मेदवार घोषणा गरेको थियो।








