नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अझै पनि संकटमा रहेको बताएका छन् । आज (शुक्रबार) एमाले ओखलढुंगा जिल्ला कमिटीलाई नेपाली कम्युनिष्ट पार्टीमा स्वागत गर्दै प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर जनताको एकता पैदा गर्न सकिएन भने देश फेरि दुर्घटनामा जाने खतरा रहेको बताएका हुन् ।
‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरिसक्यो भन्ने पनि छैन । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने, जनताको एकता पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुन सक्छ । त्यो जिम्मेवारी लिन हामी अगाडि बढ्नुपर्छ । मुख ताकेर हेरेर बस्ने समय छैन,’– उनले भने ।
प्रचण्डले एमाले ओखलढुङ्गाका असन्तुष्ट पंत्तिलाई नेकपामा समाहित गराउँदै त्यस पार्टीभित्र रहेका तमाम देशभक्त र अन्य वामपन्थीहरुलाई पनि नेकपामा समाहित हुने ढोका खुलेको बताए । प्रचण्डले एमालेलाई भ्रममा नरहन र राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन आग्रह गरे । उनले भने, ‘म एमालेलाई भ्रममा नरहन र राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा सामेल हुन अपिल गर्न चाहन्छु ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीमा देखिएको निरङ्कुश प्रवृत्ति, विभेद, अहंकार दम्भको कारण ओखलढुङ्गाको निर्वाचित एमालेहरु नेकपामा प्रवेश गरेको बताए । उनले ओलीले ओखलढुङ्गामा ९९ प्रतिशत नेता र कार्यकर्ताको भावनाविपरीत टिकट दिएको पनि दाबी गरे ।








