काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले सो आह्वान गरेका हुन् । मुलुकलाई संकटबाट जोगाउन राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले त्यसका लागि सबै वामपन्थी, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच एकता जरुरी रहेको बताए ।
मुलुकलाई संकटबाट जोगाउन आफूहरूले पार्टीहरूबीचको एकता अभियानलाई तीव्रता दिएको प्रचण्डको भनाइ छ । सबै देशभक्तहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए ।
यस्तो छ प्रचण्डको भनाइ :
राष्ट्रिय शक्ति निर्माणको यो महाअभियानमा सामेल हुन म एमालेलाई अपिल गर्न चाहन्छु । हामी सबैका लागि राष्ट्रभन्दा ठूलो अरु केही पनि छैन । राष्ट्र संकटमा छ । नेपाली जनताको एकताले मात्रै मुलुकको राष्ट्रियतालाई सुदृढ गर्न सकिन्छ । वामपन्थी र कम्युनिस्टको एकताले नै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न सक्द छ । अरु लोकतन्त्रवादीहरू पनि यो मोर्चामा आवद्ध हुन जरुरी छ । प्रतिक्रियावादीहरूको चलखेल रोक्ने एक मात्रै उपाय भनेको हामीबीचको एकता हो । अब एक नम्बर पार्टी हुन्छ ।
मैले त हिजो-अस्तिदेखि साथीहरूलाई भन्न थालेको छु- ओखलढुंगाले सिँगै राष्ट्रलाई सन्देश दिँदै छ । हामीले राष्ट्र गम्भीर संकटमा भएको अवस्थालाई विचार गरेर नै भदौ २६ गते रातभर बसेर हामीले अन्तरिम सरकार र निर्वाचनमार्फत राष्ट्रलाई निकास दिने काम गर्यौँ । त्यतिबेला संसद पुनर्स्थापना र सर्वदलीय सरकारको कुरा पनि आएको थियो । तर, माधवजी र मैले अबको निकास चुनाव नै हो भनेर नयाँ निर्वाचनले मात्रै देशलाई राजनीतिक सहजतातिर लैजान्छ भनेर हामी दृढ भएर उभियौँ । आज माधवजी र मलाई गर्व पनि छ सिंगो राष्ट्र निर्वाचनमय भएको छ । सबै राजनीतिक दलहरू निर्वाचनमा जाने वातावरण बनेको छ । देश अझै पनि संकटमा छ । दुर्घटना पूरै टरिसक्यो भन्ने छैन । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दह्रो एकता जनताको पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुन सक्छ । न्युज एजेन्सी नेपाल








