images
images

काठमाडौँ–४ को सेवा गरिरहने छु, यो मेरो कर्तव्य होः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैतिर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन्।

उनले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताए। विशेष महाधिवेशनमा पार्टीका कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाइ थियो। विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने उनले बताए।

आगामी निर्वाचनमा पनि काठमाडौँको क्षेत्र नम्बर ४ आफ्नो लागि सहज भए पनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताए। काठमाडौँ वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौँमा उम्मेदवारसमेत नछानेको उल्लेख गर्दै उनले काठमाडौँ आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको बताए।

उनले काठमाडौँ बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेको बताए। अघिल्लो पटक नै काठमाडौँ बाहिर जाने रहर भए पनि त्यस्तो निर्णय गर्ने आँट नपुगेको स्वीकार गरे। यसपटक जोखिम लिन तयार भएको उनले बताए।

आफ्नो पारिवारिक पृष्ठभूमि उल्लेख गर्दै सभापति थापाले आफूले पहाड र शहर दुवै बुझ्ने अवसर पाए पनि मधेस बुझ्ने अवसर नपाएको बताए। राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उल्लेख गर्दै उनले मधेस बुझ्नको लागि आफू सर्लाही झरेको बताए। उनले सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताए।

उनले काठमाडौँ क्षेत्र नम्बर–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको उल्लेख गरे। काठमाडौँ क्षेत्र नम्बर ४ को सेवामा पनि आफू सधैँ समर्पित रहने उनले बताए।

उनले भने, ‘म काठमाडौँ ४ नम्बर क्षेत्रबाट तीन पटक निर्वाचित भएको सांसद हुँ। यो निर्वाचन क्षेत्रले मलाई असाध्यै धेरै माया गर्‍यो। एमाले र माओवादी मिलेको बेलामा सबैतिर कांग्रेस निर्वाचन हारेको बेलामा पनि मलाई सानदार ढंगले निर्वाचित गरायो। अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सबै वडामा हार्‍यो तर प्रतिनिधिसभामा सबै वडामा मलाई जितायो। यो क्षेत्रका मतदाताप्रति म असाध्यै ऋणी छु। मैले यो ठाउँको सेवा गर्छु, गरिरहन्छु, यो मेरो कर्तव्य हो।’