images
images

महन्थ ठाकुरसहित गठबन्धनका चार उम्मेदवार राष्ट्रिय सभामा चयन

जनकपुरधाम -राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेस प्रदेशमा सत्तारूढ गठबन्धनले पूर्ण सफलता हासिल गरेको छ। आइतबार सम्पन्न मतदानबाट चारै समुहमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन्।

निर्वाचनमा अन्य, महिला, दलित तथा अपाङ्गता भएका/अल्पसंख्याक गरी चार सिटका लागि मतदान भएको थियो। परिणामअनुसार अन्य समुहबाट जनता समाजवादी पार्टी (नेपाल) का संरक्षक महन्थ ठाकुर, महिला समुहबाट नेकपा एमालेकी रेखा झा, दलित समुहबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्याक समुहबाट कांग्रेसकै रञ्जित कर्ण राष्ट्रिय सभा सदस्यमा चयन भएका छन्।

अन्य समुहमा महन्थ ठाकुरले अत्यधिक मतभारसहित विजय हासिल गरे। उनले ७ हजार ७ सय २५ अंकभार प्राप्त गर्दा नेकपाका उम्मेदवार लक्ष्मण पौडेलले १ हजार ८ सय ५ अंकभारमा सीमित रहे।

महिला समुहमा एमालेकी रेखा झाले ७ हजार २ सय २२ अंकभार प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गरिन्। नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ अंकभार पाउँदा जसपा नेपालकी चन्द्रकला देवी साहले न्यून मत प्राप्त गरिन्।

अपाङ्गता भएका/अल्पसंख्यक समुहमा कांग्रेसका रञ्जित कर्ण सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार बने। उनले ८ हजार ९३ अंकभार प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेश कुमार चौधरी क्रमशः १ हजार ३ सय ६१ र २ सय ७७ अंकभारमा सीमित भए।

दलित समुहमा पनि कांग्रेसकै धर्मेन्द्र पासवान विजयी भए। उनले ७ हजार ९ सय ४ अंकभार प्राप्त गर्दा नेकपाका शम्भु पासवान हजारीले १ हजार ३ सय ७६ अंकभार पाए। जसपा नेपालकी चमेली देवी दासले २ सय ९ अंकभार मत प्राप्त गरिन्।

निर्वाचनमा जसपा नेपालले अन्य समुह बाहेकका तीन समुहमा उम्मेदवारलाई निस्क्रिय गरेपछि गठबन्धनका उम्मेदवारलाई सहज जित मिलेको विश्लेषण गरिएको छ। परिणामले मधेस प्रदेशमा गठबन्धनको शक्ति सन्तुलन अझ मजबुत बनेको संकेत दिएको छ।