काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै यसले पार्टी विभाजनसम्मको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन्।
बागी उम्मेदवारी दिएको तथा त्यसमा सहयोग गरेको आरोपमा नेकपाले हरिबोल गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि पार्टीभित्र विवाद चर्किएको हो। खनालले उक्त निर्णयप्रति असहमति जनाउँदै स्पष्टीकरण दिने मौका नदिई वरिष्ठ नेतामाथि गरिएको कारबाही अस्वीकार्य भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले पार्टीमा सामूहिक निर्णय प्रणाली कमजोर हुँदै गएको र महत्वपूर्ण निर्णयहरू केही व्यक्तिको इच्छाअनुसार हुने गरेको आरोप लगाएका छन्। पार्टी एकीकरण भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी नबनाइनु गम्भीर समस्या भएको उनको भनाइ छ।
खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कारबाही तत्काल स्थगित गर्न, हरिबोल गजुरेलसहित शीर्ष तहका नेताहरूको आकस्मिक बैठक बोलाउन र यस घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा तथा छलफल गर्न माग गरेका छन्। उनले अधिनायवादी शैली होइन, सामूहिक नेतृत्व र निर्णय प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, “यी विषयलाई समयमै समाधान नगरिए एकीकरण भइसकेनहुँदै पार्टी बिखण्डनतर्फ जाने खतरा बढ्नेछ।”
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १८ दल तथा समूहको एकीकरणबाट बनेको नेकपामा पछिल्ला निर्णयहरूले आन्तरिक असन्तुष्टि बढ्दै गएको देखिएको छ।








