images
images

निर्वाचनका लागि छुट्टै बैँकखाता खोल्न दल र उम्मेदवारलाई राष्ट्रबैँकको निर्देशन

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले फागुन २१ गते निर्धारित निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ।

निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैँकले सोमबार यसबारे परिपत्र जारी गरेको छ।

यसअनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार बनेका व्यक्ति (समानुपातिक उम्मेदवार समेत) तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ। निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

आमनिर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहने पनि राष्ट्रबैँकले उल्लेख गरेको छ।

आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रत्येक दल र उम्मेदवारले नेपाली रुपैयाँमा कारोबार गर्न मिल्ने गरी छुट्टै खाता खोल्न सक्ने व्यवस्था गरिएको हो।