काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र साह (बालेन)सहित पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
साहसहित हर्क साम्पाङ, निकोलस भुसाल, महेश बस्नेत, जानुका पाठकलाई आयोगले स्पष्टीकरण सोधेको हो। बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हत्यारा भन्ने सार्वजनिक टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
प्रधानमन्त्री घोषणा गरेर उम्मेदवारी दिएकाहरूबीच सार्वजनिक बहस गर्न तयार रहेको ओलीको सार्वजनिक अपीलप्रति बालेनले जेनजी आन्दोलनसँग जोड्दै हत्यारासँग बहस नगर्ने टिप्पणी गरेका थिए।
त्यस विषयमा उजुरी परेपछि आयोले उनलाई स्पष्टीकरण मागेको छ। बालेन र ओली झापा ५ बाट चुनावी प्रतिष्पर्धामा छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङलाई प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको र टिर्सट लगाउन लगाएको आरोपहित स्पष्टीकरण सोधेको आयोगले बस्नेतलाई भने बालेनलाई छाउरा भनेर टिप्पणी गरेको भन्दै स्पष्टीकरण माग गरेको छ।
साम्पाङ सुनसरी १ बाट उम्मेदवारी दिएका छन् भने बस्नेतले भक्तपुर २ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा छन्। बस्नेत एमालेका सचिवसमेत हुन्।
भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेकोप्रति आयोगले स्पष्टीकरण माग गरेको हो। भुसालले रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको, हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेकोभन्दै आयोगले स्पष्टीकरण माग गरेको छ। उनी भक्तपुर २ बाट स्वतन्त्र उम्मेदवार रहेकी छन्। पाठकले बस्नेतविरुद्ध घृणाजन्य टिप्पणी गरेकी हुन्।
साथै आयोगले स्वास्थ्य स्वयमसेवक संघले अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको र एक शिक्षक सरुवाको विषयमा पनि सम्बन्धितपक्षसँग स्पष्टीकरण माग गरेको छ।







