images
images

नेकपाले आगामी निर्वाचनमा बहुमत ल्याउने वामदेव गौतमको दाबी

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गौतमले नेकपाले बहुमतसहित सरकार गठन गर्ने बताए। उनले निर्वाचनमा विजयी भएपछि बेरोजगारीको अन्त्य गर्दै समाजवादको आधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार नेकपाको नेतृत्वमा बन्ने सरकारले कुनै पनि व्यक्ति कामविहीन भएर बस्नुपर्ने अवस्था सदाका लागि अन्त्य गर्नेछ। “बहुमत हासिल गरेपछि समाजवादको आधार कसरी निर्माण हुन्छ भन्ने कुरा हामी व्यवहारमै देखाउनेछौँ,” उनले भने।

नेता गौतमले वामपन्थी शक्तिहरूबीच एकता कायम गर्दै हरेक प्रकारका विद्रोहलाई शान्तिपूर्ण निकासमा पुर्‍याउने अभियान पार्टीले अघि बढाएको पनि उल्लेख गरे।

आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपाले स्पष्ट बहुमत ल्याउने विश्वाससमेत उनले व्यक्त गरे।