गोरखा जिल्ला क्षेत्र नम्बर १ बाट नेशनल रिपब्लिक नेपाल (NRN) का तर्फबाट आकाश राना मगर ले प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यही फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै उनले मौरी (🐝) चुनाव चिह्न लिएर मैदानमा उत्रिएका हुन्।
राना मगरले स्वतन्त्रता, समानता, भातृत्व र न्यायमा आधारित लोकतान्त्रिक मूल्य, धर्मनिरपेक्षता तथा प्रान्तीय शासन प्रणालीलाई आफ्नो राजनीतिक आधार बनाएको बताएका छन्। स्पष्ट दर्शनमा आधारित वैचारिक राजनीतिमार्फत देशलाई समृद्धिको दिशामा लैजाने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
उनले देशको विकासका लागि युवाशक्तिको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा र बेरोजगारी अन्त्यलाई प्राथमिक एजेन्डा बनाएका छन्। साथै, विदेशमा शरणार्थीसरह बस्न बाध्य नेपालीहरूको समस्यालाई समाधान गर्दै स्वदेशमै सम्मानित नागरिक जीवन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
एनआरएन केवल सत्ता प्राप्तिको पार्टी नभई देश र जनताको हितका लागि निरन्तर आन्दोलन गर्ने वैकल्पिक राष्ट्रिय शक्ति भएको दाबी गर्दै राना मगरले भ्रष्टाचार र कुशासनविरुद्ध जरैदेखि अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले गोरखाली मतदातालाई “हाम्रो गौरव, हाम्रो शान, मौरी चिन्हमा मतदान” गर्दै अमूल्य मत दिएर वैचारिक परिवर्तनको यात्रामा साथ दिन अपिल गरेका छन्।








