images
images

अनुभवी शरतसिंह भण्डारी बनाम नयाँ अनुहार : महोत्तरी–२ को चुनावी संघर्ष चर्कियो

महोत्तरी -प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा महोत्तरी क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बनेको छ । देशभर नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चर्किरहेका बेला यस क्षेत्रमा भने हेभिवेट नेता शरतसिंह भण्डारीको उम्मेदवारीले चर्चा थप चुलिएको छ ।

निर्वाचन आयोगका अनुसार महोत्तरी–२ मा ३७ जनाको मनोनयन दर्ता भएको छ । अधिकांश नयाँ अनुहार भए पनि जसपाका तर्फबाट उम्मेदवार बनेका शरतसिंह भण्डारी भने पुरानै र प्रभावशाली अनुहार हुन् । १९ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भण्डारीलाई विपक्षी उम्मेदवारहरूले ‘लामो सत्ता यात्रालाई’ मुख्य कमजोरीका रूपमा प्रस्तुत गरिरहेका छन् ।

यस क्षेत्रमा जसपाबाट भण्डारीसँगै एमालेबाट कसिफ नदाफ, कांग्रेसबाट किरण यादव, नेकपाबाट लक्ष्युमन कुमार यादव, रास्वपाबाट दीपक कुमार साह, राप्रपाबाट रामलखन साह, जनमत पार्टीबाट जय कुमार पाण्डेयलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

२०३८ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएका भण्डारी अहिलेसम्म एकपटक मात्र पराजित भएका छन् । मधेशका चतुर राजनीतिज्ञमध्ये गनिने भण्डारीले अघिल्लो निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेर १४ हजार ७० मतको फराकिलो अन्तरले विजय सिंहलाई पराजित गरेका थिए । यसपटक जसपा एकीकृत भइसकेकाले आफूलाई खासै प्रतिस्पर्धी नरहेको दाबी उनको छ ।

२०३८ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएका भण्डारी अहिलेसम्म एकपटक मात्र पराजित भएका छन् । मधेशका चतुर राजनीतिज्ञमध्ये गनिने भण्डारीले अघिल्लो निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेर १४ हजार ७० मतको फराकिलो अन्तरले विजय सिंहलाई पराजित गरेका थिए । यसपटक जसपा एकीकृत भइसकेकाले आफूलाई खासै प्रतिस्पर्धी नरहेको दाबी उनको छ ।

तर स्थानीय तहमा पुस्तान्तरणको बहस तीव्र बन्दै गएको र अवस्था भण्डारीले दाबी गरेजस्तो सहज नहुन सक्ने आकलन पनि हुन थालेको छ । नयाँ अनुहारप्रति बढ्दो आकर्षणले चुनावी नतिजामा प्रभाव पार्न सक्ने स्थानीयहरूको भनाइ छ ।

७१ वर्ष पुगेका भण्डारीले यसपटकको उम्मेदवारी अन्तिम भएको भन्दै मतदातालाई आग्रह गरिरहेका छन् । तर कतिपय मतदाताले भने पटक–पटक आश्वासन दिएर सत्तामा पुगेपछि स्थानीय मुद्दा ओझेलमा पर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

देशभर रास्वपाको लहर चलेको सन्दर्भमा सो पार्टीका उम्मेदवार दीपक कुमार साहले कडा चुनौती दिन सक्ने स्थानीयहरूको आकलन छ । कुल १५ जना उम्मेदवार विभिन्न दलबाट र बाँकी स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अधिकांश स्वतन्त्र उम्मेदवारी औपचारिकतामै सीमित छन् ।

निर्वाचन आचारसंहिताका कारण घरदैलो अभियान सुरु नभए पनि उम्मेदवारहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् । आयोगले फाल्गुन ४ गतेपछि मात्रै घरदैलो अभियान गर्न पाउने व्यवस्था गरेको छ ।

अहिले मतदातामाझ नयाँलाई मौका दिने कि अनुभवी र प्रभावशाली नेतालाई नै साथ दिने भन्ने विषयमा दोधार देखिन्छ । एकातिर नयाँ शक्तिको अपेक्षा, अर्कोतिर मन्त्रीसम्म पुग्न सक्ने अनुभवी नेताबाट विकास सम्भव हुने बुझाइले महोत्तरी–२ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।