images
images

जेनजी आन्दोलनमा गोली चलाउन आदेश नदिएको ओलीको स्पष्टोक्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको पुनः दाबी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस सार्वजनिक गर्दै ओलीले उक्त दिन सरकारको आदेशमा गोली नचलेको र सरकारले कुनै पनि प्रकारको आदेश नदिएको स्पष्ट पारेका हुन् । उनले सुरक्षाकर्मीहरू सरकारको आदेशभन्दा कानुनको शपथअनुसार परिचालित हुने उल्लेख गरेका छन् ।

‘संसारका जुनसुकै देशका प्रमुख संवैधानिक अंगहरूको सुरक्षा गर्न सुरक्षाकर्मी चौबीसै घण्टा हतियारसहित कम्ब्याट पोजिसनमा उभिएका हुन्छन्,’ ओलीले लेखेका छन्, ‘उनीहरूले सरकारको होइन, कानुनको शपथ लिएका हुन्छन् । त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’

ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली नचलेको जिकिर गरेका छन् । ‘माइतीघरको प्रदर्शनमा कुनै बल प्रयोग गरिएको थिएन । निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली चलेको थिएन,’ उनले स्पष्ट पारेका छन् ।

केही दिनदेखि तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले गोली चलाउने आदेश दिएको भन्ने निराधार हल्ला फैलाइएको आरोप लगाउँदै ओलीले संविधानले प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार नदिएको बताएका छन् । ‘त्यस्तो आदेश मैले कहिल्यै दिएको छैन, दिन सोच्न पनि सक्दिनँ,’ उनले लेखेका छन् ।

त्यतिबेला घुसपैठको सम्भावना देखिएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय गरिएको तर शान्तिपूर्ण सभाका लागि अनुमति सहजै दिइएको ओलीको भनाइ छ । उनले आफूले अघिल्लो दिन नै जेनजी आन्दोलनका युवाहरू अनुशासित र सचेत रहेको सार्वजनिक रूपमा बताएको पनि स्मरण गराएका छन् ।

तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका तथा स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजिएको दाबी ओलीले गरेका छन् । ‘उनीहरूलाई थाहा थियो, संसद् भवन आक्रमणको अवस्थामा सुरक्षा निकायले कानुनअनुसार बल प्रयोग गर्नैपर्छ,’ उनले भनेका छन् ।

ओलीले आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायत संरचनाहरूमा आगजनी भएको प्रसंग पनि उठाएका छन् । साथै, यस विषयमा खुला मञ्चमा बसेर जवाफ दिन आफू तयार रहेको उल्लेख गरेका छन् ।

अन्त्यमा उनले प्रश्न उठाएका छन्, ‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो ? यसको जवाफ खोजिनुपर्छ ।’