संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई अमेरिकी कानुन र भिसा सर्तको पूर्ण पालना गर्न नेपाली दूतावासले आग्रह गरेको छ। अमेरिकी अधिकारीहरूसँगको समन्वयपछि दूतावासले सार्वजनिक सूचना जारी गर्दै कानुनी हैसियत कायम राखेमा भिसा तथा ग्रिन कार्ड सुरक्षित रहने स्पष्ट पारेको हो।
दूतावासका अनुसार अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय वा परिवार भेटघाटका सिलसिलामा अमेरिकामा रहेका नेपाली नागरिकहरूले तोकिएको भिसा प्रयोजनअनुसार गतिविधि गर्दै कुनै पनि प्रकारका अवैधानिक कार्य वा गलत विवरण पेश नगरेमा कुनै समस्या नआउने अमेरिकी अधिकारीहरूको धारणा छ। यसले नेपाली समुदायलाई जिम्मेवार र अनुशासित आप्रवासीका रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने दूतावासले जनाएको छ।
दूतावासले पछिल्ला वर्षहरूमा अमेरिकामा गएका नेपाली नागरिकहरूको संख्यामा वृद्धि भएको उल्लेख गर्दै कानुनको पालना र आत्मनिर्भरताले नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेको छ। यसले भविष्यमा नेपाली नागरिकका लागि भिसा नीतिमा सकारात्मक वातावरण सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बी१/बी२ भिसासम्बन्धी नयाँ व्यवस्थाबारे जानकारी दिँदै दूतावासले समयमै नियम बुझी पालना गरेमा यात्रुहरूलाई कुनै असहजता नहुने जनाएको छ। दूतावासका अनुसार नियमप्रति सजग रहनु नै सुरक्षित यात्रा र सम्मानजनक बसाइको आधार हो।
दूतावासले अमेरिकामा रहेका नेपाली नागरिकहरूलाई कानुनी हैसियतमा रही आत्मनिर्भर जीवनशैली अपनाउन, सही सूचना प्रयोग गर्न र भिसा सर्तको सम्मान गर्न आग्रह गरेको छ। यसले नेपाली समुदायको छवि उज्यालो बनाउने र देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय रूपमा अझ मजबुत बनाउने दूतावासको विश्वास छ।








