काठमाडौं — नेपाल सरकारले २०८२ साल फाल्गुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल तथा राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। दशकौँदेखि अपर्याप्त र असमान मानिँदै आएको राशन प्रणाली सुधार गर्ने यस निर्णयले नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूमा व्यापक उत्साहको सञ्चार भएको छ।
नेपाल प्रहरी नेतृत्वले पदभार सम्हालेदेखि नै सकल दर्जाका कर्मचारीहरूको दैनिक आहार तथा पोषण आवश्यकतालाई ध्यानमा राख्दै राशन स्केल सुधारलाई उच्च प्राथमिकतामा राखेर प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव तथा अर्थ मन्त्रालयसमक्ष निरन्तर पहल गर्दै आएको जनाएको छ। अन्य सुरक्षा निकायको तुलनामा न्यून र विभेदपूर्ण रहेको नेपाल प्रहरीको राशन प्रणालीमा गरिएको यस सुधारलाई प्रहरी संगठनभित्र मात्र होइन, आम जनसमुदायले समेत सकारात्मक रूपमा लिएको छ।
जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ भएको क्षतिले भौतिक संरचनासँगै प्रहरीको मनोबल र उत्प्रेरणामा समेत असर पारेको थियो। समुदायको सक्रिय सहयोगबाट भौतिक संरचनाहरू पुनःस्थापित हुँदै गए पनि प्रहरी मनोबल उकास्ने प्रयास जारी रहेको अवस्थामा आएको यस सरकारी निर्णयले कार्यसम्पादनमा उल्लेख्य सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
राशन स्केल वृद्धि आर्थिक सुरक्षा र कल्याणकारी सुविधाको विस्तार मात्र नभई प्रहरी कर्मचारीहरूको आत्मसम्मानको संरक्षणका रूपमा समेत हेरिएको छ। दिनरात प्रतिकूल परिस्थिति तथा शारीरिक-मानसिक रूपमा जोखिमपूर्ण कार्यसम्पादन गर्ने प्रहरीका लागि आवश्यक दैनिक पोषणको उपलब्धतामा वृद्धि भई स्वास्थ्य, कार्यक्षमता र कार्यप्रभावकारितामा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
यस निर्णयले प्रहरी मनोबल, अनुशासन, संगठनात्मक छवि तथा कर्मचारी आवद्धताको दर (Retention Rate) मा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।








