काठमाडौँ-नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आन्दोलनको “कुरुप चित्र” को संज्ञा दिएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेकपाको अत्यधिक ठूलो केन्द्रीय समिति कम्युनिष्ट आन्दोलनका लागि लज्जास्पद भएको टिप्पणी गरे। उनका अनुसार उक्त पार्टीको केन्द्रीय समितिमा २५ सयदेखि ३ हजारसम्म सदस्य हुनु आन्दोलनलाई बदनाम गर्ने कार्य हो।
“२५ सय–३ हजारको केन्द्रीय समिति हुनु भनेको कम्युनिष्ट आन्दोलनको हुर्मत लिने कुरा हो। यसले आन्दोलनलाई बेइज्जत र बदनाम गरेको छ,” उनले भने।
विप्लवले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने सहमति हुँदाहुँदै प्रचण्ड त्यसबाट पछि हटेर छुट्टै पार्टी बनाएको आरोपसमेत लगाए।
उनले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट पार्टी ठूलो हुन्छ भन्ने सोच राख्नेहरूसँग आफ्नो पार्टीको एकता सम्भव नरहेको स्पष्ट पारे। आफ्नै विचारमा दृढ रहन नसक्नु र आफूले रचेको इतिहासको रक्षा गर्न नसक्नुले आन्दोलनमा विकृत अवस्था सिर्जना हुने उनको भनाइ थियो।








