काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन्।
पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ,निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरे।
प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिए पनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ। प्रचण्डले पार्टी पंक्तिले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा राखे । उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठे पनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए।
प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफूले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे।
उनले सहिदहरूका सपना,क्रान्तिकारीहरूका सपनालाई पूरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको,जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ।








