images
images

सामाजिक सुरक्षा कोषमा योगदान संकलन १ खर्ब नाघ्यो

काठमाडौं – सामाजिक सुरक्षा कोषमा संकलन भएको योगदान रकम १ खर्ब रुपैयाँ नाघेको छ। कोषले आर्थिक वर्ष २०७४/७५ देखि कार्यान्वयनमा ल्याएका विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म करिब १ खर्बभन्दा बढी योगदान रकम संकलन भएको हो।

कोषका अनुसार औपचारिक क्षेत्रका करिब ६ लाख ७० हजार योगदानकर्ता, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख, अनौपचारिक तथा स्वरोजगारमा रहेका करिब १६ हजार श्रमिकबाट योगदान संकलन गरिएको छ। संकलित रकम स्वास्थ्य उपचार, मातृत्व सुविधा, दुर्घटना उपचार, अवकाश भुक्तानी तथा पेन्सनलगायत शीर्षकमा खर्च भइरहेको छ।

हालसम्म कोषबाट औषधि उपचार तथा स्वास्थ्य सेवामा करिब ८ लाख योगदानकर्ताका लागि २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको छ। यस्तै, दुर्घटना उपचारका लागि ३ हजार योगदानकर्तालाई सुविधा प्रदान गरिएको छ भने रोजगारीजन्य दुर्घटनाबाट प्रभावित २८ जनालाई अशक्तता वृत्ति उपलब्ध गराइएको छ।

कोषले अवकाश भुक्तानीतर्फ पनि उल्लेखनीय रकम खर्च गरेको छ। हालसम्म १ लाख १६ हजारभन्दा बढी योगदानकर्तालाई अवकाश भुक्तानीअन्तर्गत १५ अर्ब २४ करोड रुपैयाँभन्दा बढी सुविधा प्रदान गरिएको छ। साथै, पेन्सन शीर्षकमा पनि ठूलो रकम भुक्तानी भइसकेको कोषले जनाएको छ।

सामाजिक सुरक्षा कोषमा संकलित रकमलाई सरकारी ऋणपत्र, बैंक निक्षेप, शेयर, म्युचुअल फन्ड तथा भौतिक पूर्वाधारलगायत सुरक्षित र प्रतिफलमूलक क्षेत्रमा लगानी गरिएको छ। कोषले लगानीलाई थप प्रभावकारी बनाउँदै योगदानकर्तालाई दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

सरकारले औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै आएको छ। कोषमा आबद्ध हुने योगदानकर्ताको संख्या क्रमशः बढ्दै गएको छ।