images
images

निर्वाचनपछि सत्ता हस्तान्तरण गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमा निर्वाचन सम्पन्न गरी जनताको मतबाट आउने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएकी छन्। उनले वर्तमान सरकार निर्वाचन गराउने दायित्व पूरा गर्न पूर्ण रूपमा तयार रहेको बताइन्।

सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो वातावरणमा चुनाव सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गरिन्। उनले निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरूलाई सहज रूपमा सत्ता हस्तान्तरण गरिने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले आफू कुनै व्यक्तिगत स्वार्थ वा पदको आकांक्षाले प्रधानमन्त्री नबनेको बताइन्। भदौ महिनाको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरताका बीच देशलाई संकटबाट जोगाउन युवा पुस्ता, राजनीतिक दलहरू र राष्ट्रपतिसँगको परामर्शपछि आफूले जिम्मेवारी लिएको उनको भनाइ थियो।

उनले बिग्रिएको संवैधानिक व्यवस्थालाई सही मार्गमा फर्काउन र देशलाई स्थिरतातर्फ लैजान कठिन परिस्थितिमा नेतृत्व सम्हालेको समेत बताइन्।