images
images

नागरिक उन्मुक्ति पार्टी परित्याग गरी दिलकुमारी चौधरी पुनः जसपा नेपालमा समाहित

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सञ्चालन गरिरहेको ‘घर फिर्ती अभियान’ अन्तर्गत नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य दिलकुमारी चौधरी पुनः जसपा नेपालमा आबद्ध भएकी छन्।

उनीसँगै केही अन्य नेता तथा कार्यकर्ताले पनि पार्टी प्रवेश गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीलगायतलाई पार्टीमा स्वागत गरेका हुन्।

चौधरी यसअघि जसपा नेपालको केन्द्रीय सदस्य रहेकी थिइन् र पार्टी विभाजनको क्रममा नागरिक उन्मुक्ति पार्टीतर्फ गएकी थिइन्।

चौधरी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघको मधेश प्रदेश उपाध्यक्षको जिम्मेवारीमा पनि सक्रिय रहेकी छन्।

यसै अभियानअन्तर्गत कलाकार गोपालप्रसाद चौधरी र शिवशंकर यादव ‘शिवम’ पनि जसपा नेपालमा प्रवेश गरेका छन्। पार्टीका केन्द्रीय सचिव शैलेन्द्र साहका अनुसार ‘घर फिर्ती अभियान’ प्रभावकारी बन्दै गएको छ र पछिल्लो समय बढ्दो पार्टी प्रवेशले संगठनभित्र उत्साह थपिएको छ।