काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई व्यवस्थित र विश्वसनीय बनाउन सरकारले सबै सम्भावित उपाय अपनाउने बताएकी छन्। उनले विशेषगरी हिमाली तथा दुर्गम क्षेत्रमा मौसमले समस्या सिर्जना गरे वैकल्पिक तरिकाले मतदान सुनिश्चित गरिने विश्वास दिलाइन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१, हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन कुनै पनि हालतमा प्रभावित हुन नदिने सरकारको नीति रहेको बताइन्।
उनका अनुसार कम मतदाता भएका विकट बस्तीमा आवश्यक परे सवारी साधनमार्फत मतदातालाई मतदान केन्द्रसम्म पुर्याउने व्यवस्था गरिनेछ। यदि कुनै क्षेत्रमा मतदान गराउनै नसकिने परिस्थिति बनेमा दोस्रो चरणमा मतदान गर्ने विकल्पसमेत खुला राखिएको उनले जानकारी दिइन्।
निर्वाचन स्थगन गर्ने कुनै प्रस्ताव अहिले नरहेको स्पष्ट पार्दै उनले फागुन २१ गते तोकिएको मितिमै मतदान हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरिन्। समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ दिशामा अघि बढाउने विश्वास उनले व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आयोजना हुन लागेको यस निर्वाचनमा केही चुनौती आउन सक्ने स्वीकार गर्दै पनि सरकारले त्यसको समाधान खोजेर लोकतान्त्रिक प्रक्रिया सफल बनाउने प्रतिबद्धता दोहोर्याइन्।








