काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठन नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्नु पर्ने बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको मंगलबार नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको मुख्य जिम्मेवारी भएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई मुलुकका संवेदनशील र भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै महानिरीक्षक कार्कीले उनीहरूको सुरक्षा र सेवाका लागि प्रहरी सधैँ तत्पर रहेको धारणा राखेका छन् ।
स्थानीय नागरिकलाई सेवा प्रवाह सहज बनाउने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएकोप्रति उनले सम्बन्धित सबैलाई धन्यवादसमेत दिए ।
यूएनओपीएसको सहयोगमा निर्माण भएको भवनको संरक्षण र सदुपयोग स्थानीय समुदायको पनि दायित्व भएको आइजिपी कार्कीले उल्लेख गरे ।
संवेदनशील तथा जोखिममा रहेका समूहलाई सेवा दिन यो केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले प्रविधिमैत्री संरचनासँगै प्रहरी कर्मचारीहरू पनि समयानुकूल परिवर्तन हुनु पर्ने धारणा राखे ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, यूएनओपीएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्की, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले आधुनिक भवनबाट सेवा दिन पाउनु प्रहरीका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे ।
उक्त भवन १२ महिनामा निर्माण सम्पन्न भएको हो । २ करोड ३६ लाख ६४ हजार ७ सय १ रुपैयाँ लागतमा निर्माण गरिएको १२ कोठे भवनबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित सेवा प्रदान गरिनेछ ।







