नवलपरासी — अघिल्लो निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार यस क्षेत्रमा महिला लक्षित सीप विकास र उद्यमशीलता कार्यक्रम सफल रूपमा कार्यान्वयन भएको भन्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा निरन्तरता दिन कांग्रेस उम्मेदवार विनोद कुमार चौधरीलाई विजयी बनाउन आग्रह गरिएको छ।
स्थानीय अगुवा तथा अभियानकर्ताहरूले स्मरण गराएका छन् कि अघिल्लो पटकको “प्रतिबद्धता पत्र” को १३ नम्बर बुँदामा महिलाका लागि सीप विकास र लघु उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो। सोहीअनुसार सिलाइ–कटाइ, ब्युटिसियन, ठेलागाडा वितरण तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सञ्चालन गरिएको र यसबाट धेरै स्थानीय महिला स्वरोजगार बन्न सफल भएको उनीहरूको भनाइ छ।
यी कार्यक्रमले महिलामा आर्थिक आत्मनिर्भरता बढाउनुका साथै आत्मविश्वास र नेतृत्व क्षमतासमेत विकास गरेको बताइएको छ। स्थानीय महिलाहरूले आयआर्जनका गतिविधिमा सक्रिय भएर परिवार र समुदायमा योगदान दिन थालेपछि यस क्षेत्रको सामाजिक–आर्थिक अवस्थामा सकारात्मक परिवर्तन देखिएको उनीहरूको दाबी छ।
यस पृष्ठभूमिमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–पश्चिम) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार चौधरीलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरिएको छ। रोजगारीसँग महिलालाई जोड्दै महिला सशक्तिकरणमार्फत आत्मनिर्भर र स्वावलम्बी समाज निर्माण गर्ने अभियानलाई अघि बढाउन चौधरीको जित आवश्यक रहेको समर्थकहरूको भनाइ छ।








