बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गर्नुभएको छ। जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभएको छ।
संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई आवश्यक पहल लिन निर्देशन दिनुभएको छ।








