images
images

पाँच जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ -प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्री स्तरको २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिव स्तर) को २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा ५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीम कुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी, मोहन सिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।  शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मूल दायित्वमा प्राविधिक समूहको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा थप योगदान पुर्‍याउन उनले निर्देशन समेत दिए ।

प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न परिस्थितिको विश्लेषण गरी आफ्नो क्षमता एवम् दक्षता प्रदर्शन गर्दै उच्च मनोबलका साथ थप सक्रिय भई आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भीम कुमारी पाण्डेले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको श्रीवृद्धिका लागि थप उत्प्रेरित भई कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।