images
images

नेपालमै पहिलोपटक पशुपतिमा विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ

काठमाडौं — पशुपति क्षेत्रमा विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। श्रीविद्यादेशिक प्रवर परमपूज्य गुरु महेश चैतन्य ब्रह्मचारीजी महाराजको संकल्पमा आयोजना गरिएको उक्त महायज्ञ पशुपति क्षेत्रस्थित बनकालीको श्री नेपाल वेदविद्याश्रम परिसरमा सञ्चालन भइरहेको छ।

फागुन ४ गतेसम्म चल्ने ११ दिने उक्त महायज्ञ नेपालमै पहिलोपटक आयोजना हुन लागेको आयोजक संस्थाले जनाएको छ। प्रसिद्ध साधक महेश चैतन्य ब्रह्मचारीजी महाराजको सान्निध्यमा विश्वमेध श्रीविद्या ललितामहात्रिपुरसुन्दरी कोटी अर्चना महायज्ञ दिव्य महोत्सवको रूपमा आयोजना गरिएको हो।

नेपाल राष्ट्रको शान्ति, समृद्धि तथा जनकल्याणको कामनासहित श्रीविद्याका परम उपासक परमपूज्य गुरुदेव श्री महेश चैतन्य ब्रह्मचारीजी महाराजको निर्देशन र मार्गदर्शनमा भगवती श्रीविद्या राजराजेश्वरी ललितामहात्रिपुरसुन्दरीको कोटी अर्चना दिव्य अनुष्ठान सुरु गरिएको आयोजकले बताएका छन्।

आयोजकका अनुसार यो महायज्ञ नेपालको यज्ञीय इतिहासमै पहिलोपटक सम्पन्न हुन लागेको विशिष्ट धार्मिक अनुष्ठान हो, जसले आध्यात्मिक चेतना, राष्ट्रिय एकता र सकारात्मक ऊर्जाको प्रवाहमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।