images
images

देशलाई थप दुर्घटनामा जान नदिन मतदाताले राप्रपालाई जिताउन जरुरी छः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन्।

आइतबार काठमाडौँका पार्टीका उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई दुर्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे।

उनले राप्रपा कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताए। राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङ्देनको भनाइ थियो।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रुपमा यसलाई उपयोग गर्न म अपील गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो पार्टी कमजोर बन्ने हो र संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार मध्यामको अगाडि भनेको छु– राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि कुने विध्वंश गर्छ, विद्रोह गर्छ, देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरुकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तीको भन्दा ठूलो दुर्घटनातर्फ जाने सुनिश्चित छ। देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ।’