काठमाडौँ – धनुषास्थित औरही गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको ठेक्का प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार आरोपमा मुछिएका मधेश प्रदेशका सांसद दिपेन्द्र ठाकुरसहित १७ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
आइतबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावल सम्मिलित इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई दोषमुक्त गर्ने फैसला सुनाएको हो। अदालतले अभियोग दाबी अनुसार कसुर पुष्टि नभएकाले सजाय दिन नमिल्ने निष्कर्ष निकालेको छ।
फैसला आदेशमा प्रस्तुत प्रमाण र तर्कले अभियोजन पक्षको दाबी स्थापित गर्न नसकेको उल्लेख गर्दै आरोपित सबैलाई सफाइ दिने निर्णय गरिएको छ।
यस मुद्दामा सांसद ठाकुरसँगै औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, विभिन्न वडाध्यक्षहरू तथा कर्मचारीहरू पनि प्रतिवादीका रूपमा रहेका थिए। त्यस्तै, गाउँपालिकामा कार्यरत इन्जिनियर र खरिदार पदका कर्मचारीहरू समेत आरोपको घेरामा परेका थिए।
अख्तियारले यसअघि रद्द भइसकेको ठेक्का प्रक्रियालाई आपसी मिलेमतोमार्फत पुनः अघि बढाई सांसद संलग्न रहेको निर्माण कम्पनी लुम्बिनी आरडी एण्ड एन बिल्डर्स जेभी प्रालिलाई ठेक्का दिलाइएको आरोपसहित मुद्दा दायर गरेको थियो। सोही आधारमा विशेष अदालतमा अभियोगपत्र पेश गरिएको भए पनि अन्ततः अदालतले आरोप प्रमाणित नहुने ठहर गरेको हो।








