जापानकी प्रधानमन्त्री साने ताकाइचीले आकस्मिक रूपमा घोषणा गरेको निर्वाचन अत्यन्त सफल भएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार आइतबार सम्पन्न निर्वाचनमा मतदाताले उनको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) लाई भारी बहुमत दिएका छन्।
ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षणकै रूपमा हेरिएको यस निर्वाचनमा एलडीपीले जापानको तल्लो सदनका कुल ४६५ सिटमध्ये ३१० भन्दा बढी सिट जितेको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै एक दलले दुईतिहाइ बहुमत हासिल गरेको हो। सत्तारुढ गठबन्धनले भने कुल ३४० भन्दा बढी सिट जितेको छ।
ताकाइचीको जितसँगै जापानी सेयर बजारमा उछाल देखिएको छ। जापानमा सेयर कारोबार सुरु भएको करिब दुई घण्टामै जापानी येन अमेरिकी डलरको तुलनामा बलियो बनेको छ। हाल येन करिब ०.५ प्रतिशतले मजबुत हुँदै १५६.३९४ मा पुगेको छ।
उता, प्रमुख सेयर सूचकांक निक्केई–२२५ मा आएको वृद्धि भने केही घटेर करिब ४.७ प्रतिशतमा सीमित भएको छ। यो सूचकांक केही समयका लागि इतिहासमै पहिलो पटक ५७,००० अंक नाघेको थियो।
एनएचकेसँगको अन्तर्वार्तामा ताकाइचीले चिसो मौसम र हिउँ परेका बाटो पार गर्दै मतदान गर्न आएका मतदाताप्रति धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “उत्तरदायी र सक्रिय वित्तीय नीति लागू गरी देशको आर्थिक दिशा परिवर्तन गर्ने मेरो प्रस्तावका लागि मतदाताबाट स्पष्ट जनादेश चाहन्थेँ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त कठोर रूढीवादी नेतृ ताकाइची चार महिनाअघि मात्र प्रधानमन्त्री बनेकी थिइन्। उनी जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री हुन्। बलियो कार्यशैली, सामाजिक सञ्जालमा सक्रियता र करिश्माका कारण उनले छोटो समयमै लोकप्रियता हासिल गरेकी छन्। हालै दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग के–पप गीतमा आकस्मिक रूपमा ड्रम बजाएको दृश्य भाइरल भएपछि उनको लोकप्रियता अझ बढेको थियो।
आकस्मिक निर्वाचन घोषणा गरेर ताकाइचीले आफ्नो लोकप्रियतालाई पार्टीको मजबुत जनादेशमा रूपान्तरण गर्ने लक्ष्य राखेकी थिइन्। विगत केही वर्षयता राजनीतिक कोष दुरुपयोगसम्बन्धी काण्डका कारण कमजोर बनेको पार्टीलाई सुदृढ बनाउने उद्देश्यले उनले यस्तो कदम चालेकी थिइन्। विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा वित्तीय विस्तारसम्बन्धी आफ्नो योजना अघि बढाउन उनले नयाँ जनादेश मागेकी थिइन्, जुन उनले प्राप्त गरेकी छन्।
तल्लो सदनमा प्राप्त दुईतिहाइ बहुमतले ताकाइचीको पार्टीलाई माथिल्लो सदनको मत उल्ट्याउन तथा संविधान संशोधन प्रस्ताव अघि बढाउन सक्ने अधिकार प्रदान गर्नेछ। यससँगै सत्तारुढ दल र गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले तल्लो सदनका सबै समितिको नेतृत्व गर्ने सम्भावना पनि बढेको छ।
यस निर्वाचन परिणामले ताकाइचीलाई तीव्र रूपमा वृद्ध हुँदै गएको जनसंख्या, बढ्दो महँगी, कमजोर येन तथा चीनसँग बिग्रँदै गएको सम्बन्धजस्ता चुनौती सामना गर्न नयाँ जनादेश दिएको छ।









