काठमाडौँ- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका- १० मा रहेको एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
आज सोमबार बिहान आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम सञ्चालन गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त गोदाममा छापा मारेको थियो।
छापाका क्रममा करिब ७ लाख रुपैयाँ मूल्य बराबरको अवैध रूपमा भण्डारण गरिएको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। कपडा बरामद गरेपछि तस्कर समूह आक्रमणमा उत्रिएको थियो।
तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरी बल नेपालका एक वटा वानटन र एक वटा स्कार्पियो गाडीमा क्षति पुगेको छ। साथै, घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
बरामद गरिएको सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।








