काठमाडौँ-३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष कैद सजाय हुने फैसला गरेको छ।
जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका ‘गोरे’लाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्य हत्या कसुरमा थप १० वर्ष कैद सजाय सुनाएको हो।
यसअघि मोरङ जिल्ला अदालतले सुन तस्करीको पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्य हत्या प्रकरणमा मात्रै ‘गोरे’सहित ८ जनालाई कैद सजाय सुनाएको थियो। तस्करीको सुन ‘गायब’ बनाएको आरोपमा ‘गोरे’ समूहले यातना दिएर २०७४ फागुन १८ मा उर्लाबारीमा सनम शाक्यको हत्या गरेको अदालतले ठहर गरेको थियो।
सोही प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय भएको छ। यस्तै राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको थियो।
उच्च अदालतले नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा भने सजाय घटाएर १० वर्ष मात्रै कायम गरेको छ। मतियारका रूपमा संलग्न मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष कैद सजाय सुनाइएको छ भने लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्ला अदालतकै फैसला सदर गरिएको छ।
२०७४ मंसिरमा थाई एयरलाइन्समार्फत आएको साढे ३३ केजी सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा १८ फागुन २०७४ मा सनम शाक्यको हत्या भएको थियो। उनको शव १९ फागुनमा विराटनगर–१ पोखरियामा स्कारपियो जिपभित्र फेला परेको थियो।
यस घटनापछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनका आधारमा नेपाल प्रहरीले ७७ जनाविरुद्ध संगठित आपराधिक समूह स्थापना गरी सुन तस्करी र मानव अपहरण तथा हत्या गरेको अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो।
अभियोगमा २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित सञ्जालमार्फत करिब १७ अर्ब रुपैयाँ बराबरको करिब ३८ टन सुन तस्करी भएको दाबी गरिएको थियो। जिल्ला अदालत मोरङले यस मुद्दामा ‘गोरे’सहित १० जनालाई कैद सजाय सुनाएको थियो।








