काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन्।
सोमबार चितवनमा आयोजित एक कार्यक्रममा उपसभापति शर्माले साह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताएका हुन्।
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उनको भनाइ छ। उनले कांग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रस्तुत गरे।
अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उनले झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गरे।
उनले भने, ‘प्रधानमन्त्रीको एक जना उम्मेदवार हुनुहुन्छ बोलेको बोल्यै, घोचेको घोच्यै गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौनधारण। एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराइहाल्ने। देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन। बोल्दै नबोल्नेबाट पनि चल्दैन। देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ। गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रुपमा हुनुहुन्छ।’
उनले जेन–जी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरुको जिम्मा लिन आफूहरु तयार रहेको पनि बताए।








