काठमाडौँ – सरकारले जेन–जी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदै छ ।
आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनले भने,‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो।’
सरकारले गत असोज ५ गते जेन–जी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो।
३ महिनाको कार्यादेशसहित गठित आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो।
आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले पुनः २० दिन आयोगको म्याद थप गरेको थियो। तर, दोस्रो पटक थपिएको समयावधिभित्र पनि आयोगले आफ्नो प्रतिवेदन बुझाउन नसकेपछि पुनः तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो।








